आज जनकपुर–जयनगर रेलवेको गति परीक्षण गरिंदै
बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिंदै छ । आइतबार प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने छ ।
रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्यायाकमा मान्छे, पशु चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् । परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिएका छन् ।
सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।