उपेन्द्र यादवले सोधे मन्त्री बनेका ९ जनालाई स्पष्टीकरण
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई सात दिने स्पष्टीकरण सोधेका छन्।
जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवका अनुसार उनीहरू पार्टी नीतिविपरीत ओली सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ।
यादवले मन्त्री भएका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टिकरण सोधेका हुन्।
यसअघि यादवले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निस्कासन गरेका थिए। यादवले ठाकुर पक्षका नेताहरूलाई निस्कासन गर्ने निर्णय कार्यकारिणी समितिको बहुमतबाट गराएका थिए।
लगत्तै अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निकालेका थिए। दुबै पक्षले एक-अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने भएको छ।
आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले उक्त निर्णय गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले गरेको कारबाहीलाई मान्यता नदिने निर्णय आयोगले गरेको बताएका हुन्।
साभार ः सेतोपाटी संवाददाता