राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान
दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गर्नुभएकाे छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नुभएकाे हाे ।
राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत पुगेका थिए ।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी जानुभएकाे हाे ।