लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।
शपथ लिने मन्त्रीहरूमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर रहेका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानबमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना नयाँ मन्त्री समावेश भएका छन्।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर तथा उपसभामुख मेनुका खाँड केसीलगायतको उपस्थिति रहेको थियो।