प्रधानमन्त्री : कसैले मोर्चा कसेर मलाई हटाए २० महिनापछि फेरि दुई तिहाईका साथ सिंहदरवारको मूलगेटबाट छिर्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले नसक्ने दाबी गरेका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सक्छ भने कसैले आफूलाई सत्ताबाट हटाएर देखाउन चुनौतिसमेत दिएका छन्। कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दाबीसमेत प्रधानमन्त्रीले गरे।
‘२०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ। अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छु,’ ओलीले भने।
ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको भन्दै सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको स्पष्ट पारे।