नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । मृगौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै उनले यसबारेका प्रचारलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।
विश्व मृगौला दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा उनले विशेषज्ञ सेवाका लागि केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको बताए ।
‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहाले प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउनेसमेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । ‘मृगौला रोगको साथमा स्वस्थ जीवन’ नारासहित आज विश्वभर मृगौला दिवस मनाइँदै छ ।
‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ,’ ओलीले भने ।
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कार्यक्रममा प्रधानमन्त्रीले बताए । ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइनँ, यहाँ सुविधा नहुँदा गएको थिएँ,’ उनले भने ।