डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, १६ हजार २५० डोज एर्भेबो खोपको पहिलो खेप आइपुग्यो
किन्शासा — डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा इबोला भाइरसको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला ‘एर्भेबो’ खोपको पहिलो खेप देशमा आइपुगेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शुक्रबार १६ हजार २५० डोज खोप डीआर कङ्गो पुगेको हो।
डीआर कङ्गोमा इबोलाको १७औँ प्रकोप घोषणा भएको केही महिनापछि खोपको पहिलो खेप ल्याइएको हो। डब्लुएचओका अनुसार देशले जर्मनीमा उत्पादित एर्भेबो खोपका कुल ७० हजार डोज प्राप्त गर्नेछ।
प्राप्त हुने खोपमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि प्रयोग गरिनेछ भने बाँकी ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा उच्च जोखिममा रहेका व्यक्तिलाई दिइनेछ।
औषधि कम्पनी मर्कले विकास गरेको एर्भेबो खोप जायर स्ट्रेनको इबोला भाइरसविरुद्ध प्रयोगका लागि स्वीकृत छ। तर डीआर कङ्गोमा हाल फैलिरहेको बुन्डिबुग्यो स्ट्रेनविरुद्ध यसको प्रभावकारिता भने अझै प्रमाणित भइसकेको छैन। प्रारम्भिक अध्ययनहरूले उक्त स्ट्रेनविरुद्ध पनि खोपले केही सुरक्षा प्रदान गर्न सक्ने संकेत गरेको डब्लुएचओले जनाएको छ।
डीआर कङ्गोका स्वास्थ्यमन्त्री शमूएल रोजर काम्बाले एर्भेबो खोप यसअघि पनि देशमा ठूलो मात्रामा प्रयोग भइसकेको बताएका छन्। विशेषगरी सन् २०१८ देखि २०२० सम्मको इबोला प्रकोपका क्रममा खोपको व्यापक प्रयोग गरिएको थियो।
डीआर कङ्गोमा गत मे १५ मा इबोलाको १७औँ प्रकोप घोषणा गरिएको थियो। यद्यपि त्यसअघि नै संक्रमण फैलिन थालेको अनुमान गरिएको छ। देशका उत्तरी तथा पूर्वी क्षेत्रमा स्वास्थ्य पूर्वाधारको अभाव र सशस्त्र समूहको गतिविधिले संक्रमण नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ।
कङ्गोली अधिकारीहरूका अनुसार हालसम्म ५ हजार २९० जनामा इबोला संक्रमण पुष्टि भएको छ भने २ हजार ५१६ जनाको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्निसले संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
डब्लुएचओका खोप विज्ञहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध एर्भेबोको प्रभावकारिता यकिन गर्न मानव परीक्षण आवश्यक रहेको बताएका छन्। यही स्ट्रेनलाई लक्षित गरी विकास गरिएका अन्य खोपहरू पनि हाल चिकित्सकीय परीक्षणको चरणमा छन्।
पछिल्लो पाँच दशकमा इबोला भाइरसका कारण अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। पछिल्लो प्रकोपसँगै संक्रमण नियन्त्रण, जोखिममा रहेका समुदायको सुरक्षा र प्रभावकारी खोपको उपलब्धता डीआर कङ्गोका लागि प्रमुख चुनौती बनेको छ।