प्रधानमन्त्री ओली अहंकारी र अयोग्य: गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली अहंकारी र अयोग्य भएका बताएका छन्। प्रधानमन्त्री ओली अंकारी र अयोग्य भएकाले नै अहिलेको राजनीतिक संकट आएको उनले बताए।
‘अयोग्य मान्छे अहंकारी भयो भने समस्या हुन्छ। अयोग्य मान्छे जब अहंकारी हुन्छ, उसले आफूसँग भएको अयोग्यताको कारणले भएका ग्यापहरु देख्दै देख्दैन। आफूलाई नै सम्पूर्ण ठान्छ, जसको कारणले समस्या आएको हो। प्रधानमन्त्री अयोग्य र अहंकारी भएकै कारण पाएको जिम्मेवारी सहि ढंगले निर्वाह गर्न सक्नुभएन,’ उनले भने।
नेकपाले ५ बर्षको निम्ति सरकार चलाउने म्याण्डेट पाएको र नेपाली कांग्रेसले ५ बर्ष प्रमुख प्रतिपक्षीको भुमिका खेल्ने म्याण्डेट पाएको उनले बताए। म्याण्डेट विपरित नेकपाले आप्mनो जिम्मेवारी पुरा गर्न नसकेको थापाले बताए। पाएको जिम्मेवारी पुरा गर्न नसक्दा लाज र अप्ठ्यारो लाग्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले कुनै संकोच नमानेको उनले टिप्पणी गरे।
उनले भने, ‘म त प्रधानमन्त्री हो नि, ५ वर्षको जिम्मेवारी पाएको हो नि, आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको हो नि। आफ्नो भूमिका निर्वाह गर्न नसक्दा अप्ठेरो लाग्नुपर्ने हो। रत्तिभर लाग्दैन। अलिकति पनि त्यसको संकोच लाग्दैन। अहिले पनि म सर्वोत्तम हुँ, म सत्य हो, म नै राज्य हो। सबै हिसाबले सहि मै हुँ। सबै गल्ती अरुकै हुन् भन्ने लाग्छ।’
प्रधानमन्त्री ओलीबाट मात्र नभई गल्ती प्रमुख प्रतिपक्षी कांग्रेसबाट पनि भएको थापाले स्वीकार गरे।
‘प्रधानमन्त्रीलाई यो लाग्ने कुरामा उहाँकोमात्रै गल्ति छैन। हाम्रो पनि थुप्रै कमजोरी छ। हामीले प्रतिपक्षको ठाउँबाट निरन्तर जुन दबाब दिन सक्नुपर्ने हो, हस्तक्षेप गर्न सक्नुपर्ने हो, प्रश्न गर्न सक्नुपर्ने हो, हामीलाई देखेर प्रधानमन्त्री डरले थरथर डराउनुपर्ने हो। प्रतिपक्षको संख्या गनिँदैन। कति संसदमा छ भन्नेले अर्थ राख्दैन। यल्ले नागरिकको भाषा बोल्छ। जुन डर प्रधानमन्त्रीमा राख्नुपर्थ्यो त्यो राख्न सकेनौं। हामी आफैं पनि समीक्षा गर्नुपर्छ,’ उनले भने।
नेकपा जिवित भएको अवस्थामा प्रचण्ड, माधव नेपाल लगायतका लोभको कारण पनि प्रधानमन्त्री ओलीमा अहंकार बढेको उनले दाबी गरेका छन्। प्रचण्ड र माधव नेपाल अहिले सडकमा निरिह अवस्थामा देखिएको थापाले बताए।