रणनीति बनाउन माधव-झलनाथ पक्ष आन्तरिक छलफलमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुलाई स्पष्टिकरण सोधेपछि झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष छलफलमा जुटेका छन् । यो समूहले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकलाई गुटको बैठकको संज्ञा दिंदै आएको छ ।
ओली पक्षको केन्द्रीय कमिटीको शनिवार बसेको बैठकले गुटगत भेला गरेर पार्टीविरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण मागिएको पत्र भने अहिलेसम्म पठाइएको छैन ।
झलनाथ–माधव समूहले अबको रणनीति के हुन्छ भन्ने सन्दर्भमा आन्तरिक छलफल बढाएको छ । अध्यक्ष ओलीको अवैध निर्णय विरुद्ध निर्वाचन आयोगमा जानेसम्मको तयारीमा यो समूह रहेको छ ।
यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ । यो समूहले एमालेभित्रै संघर्ष गर्ने वा तल्लो तहसम्म कमिटीहरु पुनर्गठन गरेर माओवादी केन्द्रसँग पुनः एकतामा जाने भन्ने दुबै कोणबाट छलफल थाल्ने भएका छन् ।
माओवादी केन्द्रले पनि झलनाथ–माधव समूहसँग एकता गर्न सक्ने आधारका रुपमा पार्टीको नाम फेर्ने बहस सुरु गरेको छ ।