सापकोटाको रिट न्यायाधीश ढुंगानाको इजलासको तेस्रो नम्बरमा
सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ।
सर्वोच्चको वेवसाइट अनुसार सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको हो।
सापकोटाले संवैधानिक आयोगहरूमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी गरिएको नियुक्ति बदर गर्न माग गर्दै शुक्रबार रिट दायर गरेका थिए ।
उनले प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, मुख्यसचिवसहित नियुक्ति पाएका कर्मचारीविरूद्ध रिट दर्ता गराएका थिए। सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।
उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए। संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो।