शान्तिवाटिकामा प्रचण्ड–नेपाल समूहको विजय र्याली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय र्याली गरेको छ । काठमाडौंको शान्तिवाटिकामा बुधबार दिउँसो १२ बजेबाट विजय र्याली सुरु भएको हो।
केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार बुधबार बिहान ८ बजे जिल्ला सदरमुकाममा कार्यक्रम गरिएको थियो।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन। आयोगमा यो विषय अझै कानुनी लडाइँमा छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव-प्रचण्डले गरेका छन्। अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रचण्ड–नेपाल समूहले खुशीयाली मनाएका हुन्।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल बिहान विमानमार्फत राजधानी फर्किएका थिए। सभा केन्द्रीय बस ट्रमिनलमा कार्यक्रम आयोजना गरिएको थियो।
शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले केहीबेरमा सम्बोधन गर्दैछन्।