आज संवैधानिक निकायका पदाधिकारीको शपथ
विभिन्न संवैधानिक निकायमा सिफारिस पदाधिकारीहरुको सपथ आज बुधबार बिहान हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शितल निवासमा बिहान ९ बजे सपथ कार्यक्रम राखिएको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा ३८ जनाको सिफारिस गरेको थियो ।
आयोगका अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाउनु हुने छ । त्यस्तै, सदस्यलाई भने सोही आयोगका अध्यक्षले सपथ गराउनेछन् । संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीशले र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाउने व्यवस्था छ ।
संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो । पुस ५ गते उनीहरूको सिफारिससम्बन्धी जानकारी सार्वजनिक भएको थियो ।
संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाउनुभएकाे थियाे। आफूसँग छलफल नै नगरी फिर्ता पठाएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले असन्तुष्ट व्यक्त गर्नुभएकाे थियाे ।