ओली समूहको नेकपाले आज विराटनगरमा प्रदर्शन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आज (शनिबार) विराटनगरमा आमसभाको आयोजना गर्दैछ । प्रतिनिधि सभाको विघटनपछि नेकपाकै प्रचण्ड-नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक समाजले ओलीको कदम असंवैधानिक भएको भन्दै व्यापक प्रदर्शन गरिरहेको अवस्थामा जवाफस्वरुप ओली समुहले पनि आमसभा गर्दै आएको छ । त्यही सिलसिलामा आज विराटनगरमा प्रदर्शन एवं सभा गरिन लागेकाे हाे ।
असंवैधानिक कदम सच्याउन चरम दबाव रहेका बेला आफ्नो पक्षमा विशाल जनमत देखाउन भन्दै ओली समुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्रदर्शन गरिसकेको छ । आज विराटनगरमा आयोजना हुने विशाल आमसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली समुहका नेताहरुले दाबी गरेका छन् ।
सभाका लागि विराट नर्सिङ् हाेम नजिकै रहेको खाली जग्गामा मञ्च बनाइएको छ । कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएकाे छ । जसमा प्रधानमनत्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेश १ का अन्य नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायत गरी विभिन्न ६ स्थानबाट र्याली निकालेर १२ बजेसम्ममा कार्यक्रमस्थलमा जम्मा हुने कार्यतालिका तय गरिएको छ । विभिन्न जिल्लाका गाउँगाउँबाट आमसभामा आउन सवारीहरुको व्यवस्था गरिएको नेताहरुले बताएका छन् । जसमा १० हजार मोटरसाईकल र एक हजारभन्दा बढी सार्वजनिक बसहरुको व्यवस्था गरिएको बताइएको छ ।
प्रधानमनत्री ओलीको सुरक्षाका लागि विराटनगरमा सुरक्षा व्यवस्था पनि कडा पारिएकाे छ । कार्यक्रमको सम्पूर्ण व्यवस्था तथा प्रबन्धकाे जिम्मा नेकपा जिल्ला कमिटी मोरङले लिएको छ ।