देउवालाई एकैदिन चीन र भारतका राजदूतले भेटे
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले भेटेका छन्। स्रोतका अनुसार बिहीबार अपरान्ह फरक-फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन्।
देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्। नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।
प्रचण्ड-नेपाल समूहका दुबै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए। नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ।
उत्तरी छिमेकी चीनले प्रतिनिधि सभा विघटन र पुनर्स्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भए पनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।
देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो। उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन्।