बुढानिलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानी गरेका छन्।
बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उनीहरूबीच छलफल भएको हो। १:१५ मा देउवा निवास पुगेका प्रचण्ड-नेपाल १:३५ बजे त्यहाँबाट बाहिरिएका थिए। देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड-नेपालको छलफल केन्द्रीत रह्यो।
‘आ-आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुरा भएको छ,’ देउवाले सेतोपाटीसँग भने। आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने सहमति उनीहरूबीच भएको छ। यससँगै सभापति देउवाले पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं उपत्यकाबाहिर छन्। उनी आज साँझ काठमाडौं आइपुग्ने पौडेलको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड-नेपालले पौडेलसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए। पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान प्रचण्ड र नेपालले पौडेलसँग कुराकानी गरेका हुन्।
प्रचण्ड-नेपाल पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ। पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसेको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस र नेकपाका प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा थियो।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि चर्चा भएको छ।