दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु
(काठमाडौँ) नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलको एक पार्टी प्यालेसमा सुरु भएको छ ।
केन्द्रीय कमिटी बैठकअघि यो समूहको स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको थियो । केन्द्रीय कमिटी बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाए र नेपाललाई अध्यक्ष चयन गरेको थियो । दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनको विरुद्ध तेस्रो चरणको आन्दोलनमा छ । माघ १५ देखि १८ सम्म बुटवल, विराटनगर र धनगढीमा यो समूहले विरोध पर्दशन गरिसकेको छ ।
दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएपनि सोमबार ओली समूहले महासचिव विष्णु पौडेलले कुनै पनि बैठक नबोलाएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा पार्टीको विधान र पछिल्लो पटक निर्वाचन आयोगको निर्णय अनुसार आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा महासचिवले बोलाउने स्पष्ट भएको र त्यस्तो बैठक नबोलाइएको उल्लेख छ ।