संसद प्रधानमन्त्रीको नोकर हुँदैन : शम्भु थापा
वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद प्रधानमन्त्रीको नोकर हुन नसक्ने बताएका छन् । सोमबार संसद विघटनविरुद्धको मुद्दामा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई धम्की दिएको भन्दै संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने बताएका हुन् ।
मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति र संसदलई धम्की दिन नपाइने उल्लेख भएको स्मरण गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीले संसदलाई धम्की दिएको टिप्पणी गरे ।
उनले यो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको भन्दै प्रधानमन्त्री चयन गर्ने विभिन्न विकल्पमा जाँदा संसदीय प्रक्रियाबाट मात्र विघटन हुन सक्ने जिकिर गरे । वरिष्ठ अधिवक्ता थापाले संविधानमा श्री ३ र श्री ५ पनि कहिँ नभएको टिप्पणी गरे । यसअघि संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीले संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको दावी गरेका थिए ।
‘कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भएपनि हाम्रोमा दुवैलाई विशेषाधिकार छैन । यहाँ प्रधानमन्त्रीको नोकर संसद हुदैन । संसदको आफ्नै ओरिजिन हुन्छ । प्रधानमन्त्रीले घुमाउन सक्दैन’ उनले भने ।