नेकपा बरमझियाको पेडा हो र नक्कली र सक्कली छुट्याइरहनु पर्ने ? : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको धारणा व्यक्त गर्नु भएको छ । उहाँले पार्टी बरमझीयाको असली बाजेको पेडा पसल हो र असली र नक्कली छुट्याउने भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई प्रश्न समेत गर्नुभयो ।
नेपाल कम्युन्ष्टि पार्टी नेकपाको ओली समूहल काठमाडौंमा आयोजना गरेको ‘बृहत् कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै हाँगाबाट कुँहिएर भुईमा झरेको दुईवटा फलले रुख नै मेरो हो भन्ने दावी गरे झै अहिले पार्टीबाट हटेका दुई जनाले पार्टी हाम्रो हो भन्ने दावी गरे झै भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफुहरुले सक्कली हामी हौ भने निवेदन हाल्न आवश्यक नरहेको जिकिर गर्दै पार्टीमा फर्कन चाहनेहरुलाई ढोका अझै खुल्ला रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपालले तीन महिनामा पूरा हुने एकीकरणको काम तीन वर्षमा पूरा हुन नदिएको बताएका छन् । उहाँले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताउँदै घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने पनि प्रष्ट पार्नुभयो ।
भेलामा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले जंगली महत्वाकांक्षा पूर्ति गर्नका लागि जस्तोसुकै कदम चाल्ने दुस्साहसी मनस्थितिको कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताउनुभयो । पार्टीका बैठकहरूमा देश बनाउने कुरा, मुलुक विकासको कुरा र कोरोना नियन्त्रणबारे छलफल नभएको, बरु पावर शेयरिङमा र मन्त्रिमण्डलको विषयमा मात्रै भएको पोख्रेलको भनाइ थियो ।
यसैगरी भेलालाई सम्बोधन गर्दै नेता रामबहादुर थापा बादलले आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको बताउनुभयो ।
गृहमन्त्री समेत रहनुभएका बादलले आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने बताउनुभयो । अवसरवादी शक्तिहरुले प्रतिगमनलाई पुनस्र्थापित गर्न नेकपालाई फुटाउने प्रयास गरेको उहाँको भनाइ थियो ।
त्यसरी नै भेलामा सम्बोधनका क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पूर्व एमालेको सम्पतिमा आँखा नलगाउन प्रचण्ड–नेपाल समूहलाई चेतावनी दिनुभयो ।
पेरिसडाँडाको मतलब आफुहरुलाई नरहेको भन्दै उहाँले बल्खु र धुम्बाराहीको पार्टी कार्यालयमा आँखा नलगाउन चेतावनी दिनुभयो । निर्धारित समयमा चुनाव भएरै छाड्ने दाबी गर्दै मन्त्री श्रेष्ठले चुनावमा काठमाडौं, ललितपुर र भक्तपुरलाई नेकपाको लालकिल्ला बनाएरै छाड्ने बताउनुभयो ।