पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसेछ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेको बताएका छन्। उनले त्यसबाहिर अरू ३५ वटा बैठक बसेको पनि बताएका छन्।
काठमाडौंमा आज अनेरास्ववियूले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेतृत्व र प्रधानमन्त्रीलाई खुल्याउन तथा पार्टी फुटाउन बैठकहरू भएको बताएका हुन्। खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्छन्। उनले त्यसतर्फ लक्षित गर्दै खुमलटारमा २८० बैठक बसेको दाबी गरेका छन्। ‘पार्टी फुटाउन खुमलटारमा २८० बैठक बसेका रहेछन्। नेतृत्व खुल्याउन, प्रधानमन्त्रीलाई खुल्याउन,’ उनले भने, ‘अरू ३५ बैठक बाहिर बसेको रहेछ।’
उनले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नहुने दाबी पनि गरेका छन्।
तोकिएकै समयमा चुनाव हुने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै विरोध भइरहेको छ।