सिंहदरबार अगाडि राप्रपाको प्रदर्शनमा झडप
(काठमाडौं) पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसहित नागरिक समूहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको छ ।
२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सोमबार दिउँसो भद्रकालीमा भेला भएर उनीहरुले शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न खोज्दा झडप भएको हो । झडपको क्रममा केही घाइते भएको बताइएको छ ।
प्रदर्शनको क्रममा राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए । राप्रपाका अध्यक्ष पशुपति
शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा सरकारले दमन गर्दै नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै भर्त्सना गरेका छन् ।
‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरिरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले भने ।
‘राष्ट्रिय आवश्यकता बमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने । राप्रपाले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकता तथा बुद्धिजीवीहरुको उपस्थिति थियो ।