माधव नेपालसँग धेरै परसम्म यात्रा गर्न सकिन्छ : प्रचण्ड
नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो परिघटनाले देश अप्ठ्यारोमा परेको बताएका छन् । बुधबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले देशलाई अप्ठ्यारो अवस्थाबाट मुक्त गर्न केपी ओलीको कदमविरुद्ध प्रतिवाद गर्नुपर्ने र त्यसका लागि जनतालाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए ।
अध्यक्ष प्रचण्डले आगामी दिनमा आफ्नो पार्टी लोकतान्त्रिक ढंगले चल्छ त भनेर गरिएका प्रश्नहरु सही भएको भन्दै जटिल र कठिन परिस्थितिमा उभिएका पार्टीहरुलाई आउने सुझाव औषधीका रुपमा ग्रहण गर्नुपर्ने बताए ।
उनले मुलुक संगीन र संवेदनशील मोडमा उभिएको चर्चा गर्दै जनतामा पैदा भएका पार्टीप्रतिको विश्वास र आस्था धर्मराएको आफूलाई बोध भएको पनि बताए ।
‘प्रणाली बसाउने कुरा महत्त्वपूर्ण हो । आफ्नो मान्छेको सट्टा योग्य मान्छेलाई छान्ने सिस्टम बसाउछौँ’, प्रचण्डको भनाइ छ ।
उनले परिवर्तनको नेतृत्व गर्नेले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै कमीकमजोरीको जवाफदेहीता आफूहरुले लिनुपर्ने बोध भएको स्वीकार गरे ।
प्रचण्डले प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक मात्रै हो भन्ने भ्रम आफूमा नरहेको पनि बताए । सत्ताको चलखेल र सवै उहीउस्तै हो भन्ने जनतामा परेको छापबारे पनि आफूलाई बोध रहेको भन्दै प्रचण्डले त्यस्तो भ्रमले उल्टो हुनसक्ने बताए ।
‘त्यो भ्रम चिर्न मुखले होइन, व्यवहारले सावित गर्नुपर्छ’, प्रचण्डको भनाइ छ । अदालतले संसद पुनःस्थापना गरेन भने के गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘त्यतातिर हामी बहस लानेतिर छैनौँ ।’
उनले आफूहरु चुनाव विरोधी नभएको दावी गर्दै समयमा हुने निर्वाचनका लागि तयार रहेको बताए । तर, अहिले आफूहरुको ध्यान अवरुद्ध संविधान र प्रजातन्त्रलाई जोगाउनेतर्फ केन्द्रीत रहको प्रचण्डले दावी गरे ।
अध्यक्ष प्रचण्डले आफूहरु युवालाई नेतृत्व हस्तान्तरणका विषयमा सकारात्मक रहेको भन्दै अहिलेको टिमले यसलाई स्थापित गरिछाड्ने दावी गरे । उनले भने,‘दुई कार्यकालपछि नेतृत्वमा नबस्ने र युवा पुस्तालाई हस्तानतरण गर्नेबारेमा पार्टीमा गम्भीर छलफल भइरहेको छ । त्यो कुरालाई यही टिमले स्थापित गर्छ ।’
प्रचण्डले केही दिनअघि शाकाहारी आन्दोलनले पार नलाउने भनेर दिएको विवादास्पद अभिव्यक्तिबारे प्रस्ट पार्दै आफूले हिंसालाई जोड दिएको नभइ सो अभिव्यक्तिलाई आवेगको अभिव्यक्तिका रुपमा लिन आग्रह गरे ।
उनले भने, ‘त्यो भनेको आवेग हो । त्यो जरुरी पनि थियो । तर त्यसको अर्थ हिंसात्मक भन्ने होइन । लोकतन्त्रमाथि भएको प्रहारलाई आवेग, र चिन्ताको अभिव्यक्तिका रुपमा बुझिनुपर्छ ।’