भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् ।
भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ ।’ उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् । भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ ।’
भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।’