प्रचण्ड-नेपाल समूह दोस्रो चरणको आन्दोलनमा
(काठमाडौं) सत्तारूढ नेकपाकाे ओली समूहले आज (शनिबार) संघीय राजधानी काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्ने भएकाे छ । यस समूहकाे काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने बताइएकाे छ ।
प्रतिनिधिसभा विघटनसँगै विभाजित भएकाे नेकपामा एक पक्षले अर्काे पक्षलाइ गलत देखाउन विभिन्न हर्कत गरिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल समूह) निरन्तर विराेधमा छ भने ओली समूह बचाउमा उत्रिएकाे छ । यसै क्रममा आजै प्रचण्ड-माधव समूहले देशव्यापी रूपमा दोस्रो चरणकाे आन्दोलनका कार्यक्रम घाेषणा गर्दैै छ ।
ओली पक्षकाे भेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्ने र सँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उप-प्रधानमन्त्री ईश्वर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । उता प्रचण्ड-माधव समूहले संघर्ष समितिको बैठक बिहान ११ बजे बाेलाएकाे छ, जसले सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गरेर र नभए एक्लै संघर्षमा उत्रिने निर्णय गर्नेछ ।
अन्य दलहरूसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार केही दलसँग छलफल गरेकाे भए पनि कुनै सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लै भए पनि दोस्रो चरणको आन्दोलनमा जाने बताइएकाे छ । यस समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाएकाे छ । दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेकाे बुझिएकाे छ ।