न्यून लाभ हुने दीर्घकालीन महत्वका सम्झौता भारतसँग नगर्न परराष्ट्रमन्त्रीलाई सुझाव
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली माघ १ देखि ३ गतेसम्मका लागि भोलि बिहीबार भारतको भ्रमणमा जादैहुनुहुन्छ ।
परराष्ट्रमन्त्रीको भ्रमणप्रति नागरिक अगुवाहरुले आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै उहाँलाई भारत भ्रमणका क्रममा मुलुकलाई कम फाइदा हुने खालका लामो समयसम्मको महत्वका सम्झौता नगर्न सुझाव दिएका छन् । भ्रमणको क्रममा कुनै अपरिहार्य राष्ट्रिय स्वार्थका कार्यसूचीलाई भने सम्बोधन गर्न सकिने बताइएको छ ।
आज बुधबार १५ जना नागरिक अगुवाले विज्ञप्ति जारी गर्दै मुलुकलाई दीर्घकालमा क्षति पुग्ने वा गम्भीर दायित्व सिर्जना हुने भारतसंग समझदारी नगर्न अपिल गरेका छन्। ति नागरिक अगुवा अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय,पूर्व मुख्यसचिव लीलामणि पौडेल, डा. सोमलाल सुवेदी लगायत १५ जना रहेका छन् ।
नागरिक अगुवाले जारी गरेको विज्ञप्तिमा मुलुकमा तरल राजनैतिक अवस्था भइरहेको समयमा बृहत्तर राष्ट्रिय सहमति विना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुनेजस्तो देखिएपनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने वा गम्भीर दायित्व सृजना हुने गरी सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता काम नगर्नका लागि सरकारको गंभीर ध्यानाकर्षण गरेको उल्लेख गरेका छन् ।
नागरिक अगुवाले कोरोनाविरूद्धको भ्याक्सिन प्राप्त गर्ने विषय तत्कालको प्राथमिकता रहेको जनाएका छन् ।