प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको सिटी जुलुस
(काठमाडौं) प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षले मंगलबार सिटी जुलुस गर्दैछ। संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचकहुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ।
भोली अर्थात् पुस १४ गतेदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिने कार्यक्रम छ। यसअघि पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शनलगायत छन् ।
यसैगरी तेस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत प्रचण्ड-नेपाल पक्षले माघ १५ मा बुटवलमा, माघ १६ मा विराटनगरमा, १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ । यसअघि सो पक्षले संसद विघटनविरुद्ध काठमाडौंमा वृहत शक्ति प्रदर्शन गरेको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एक समूहको नेतृत्व प्रचण्ड-नेपालले लिएका छन् भने अर्को समूहको प्रधानमन्त्री केपी ओलीले लिएका छन्।
संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।