संसद विघटनबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश
(काठमाडौं) संसद विघटनविरुद्ध परेको रिटको प्राम्भिक सुनुवाइमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले एक दर्जन बढी रिटमथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन बढी रिटको सुनुवाइ संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो। प्रधानन्यायाधीश राणाको नेतृत्वमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी संलग्न संवैधानिक इजलास गठन भएको हो।
संविधानको धारा १३७ मा संवैधानिक विवादका मुद्दामा सुनुवाइ व्याख्याका लागि प्रधान न्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश उक्त इजलासमा रहने प्रावधान छ।
प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक रहेको दाबीसहित निवर्तमान सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीलगायतले रिट दिएका छन्।
यीबाहेक कानुन व्यवसायी दिनेश त्रिपाठी, अमिता गौतम, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्रराज आरण, लोकेन्द्र ओलीलगायत दर्जन कानुन व्यवसायीले पनि छुट्टै रिट दिए। प्रारम्भिक बहसका क्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरिहर दाहाल, गोविन्द बन्दीलगायतले संसद् छलेर विघटन सिफारिस भएको जिकिरसहित तत्काल रोक्नुपर्ने माग गरेका थिए।