एफएनसीसीआई गण्डकीमा कोइराला निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासंघको प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।
८० मतभार रहेकामा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गरे । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भए । एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यमा धर्म बस्याल, मंगलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एशोसिएट सदस्यमा सूर्य भुजेल चयन भए । निर्वाचित अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।