ओली समूहका बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि गएनन्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि जानुभएको छैन । अहिले बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ ।
पूर्व माओवादीतर्फका नेता टोपवहादुर रायमाझी र मणि थापा भने सहभागी भएका छन् ।
बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुलाई कारबाहीको तयारी गरेको छ । त्यस्तै बैठकले केन्द्रीय कमिटीमा नयाँ सदस्य पनि मनोनयन गर्ने भएको छ ।
सोमबार ओली पक्षले प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड(नेपाल पक्षले संसद् भवनस्थित नयाँ बानेश्वरमा सांसदहरूको बेग्लाबेग्लै भेला गरेका थिए । दुवै भेलमा नेता गौतम र गृहमन्त्री थापा अनुपस्थित थिए ।
नेता गौतमले प्रतिनिधिसभा विघटन संविधानको मर्म र भावना विपरीत भएको बताउनुभएको छ । तर, उहाँले फुटको साक्षी नबस्ने भन्दै कित्ताकाँटको राजनीतिबाट आफूलाई टाढा राख्नुभएको छ ।