काठमाडौंमा आज ओली समूहको भेला, ओली पनि जाने
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने भएका छन्। बुधबार ओली पक्षधर सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरू बबरमहलस्थित कार्की ब्यांकेटमा भेला हुँदैछन्। उक्त भेलालाई सम्बोधन गर्न ओली ब्यांकेटमा जान लागेका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार अपरान्ह १२ बजेदेखि बबरमहलमा भेला सुरु हुने छन्। भेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाट ओलीपक्षका कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो।
प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए। पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो। ९ गते बालुवाटारमा ओली समूहले खुला चौरमा टेन्ट टाँगेर कार्यक्रम गरेको थियो।
पुस ५ गतेपछि नेकपाको प्रचण्ड-नेपाल समूहले भने सबै बैठकहरू कार्की ब्यांकेटमै गरिरहेका थिए। प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक र स्थायी कमिटी बैठक सोही ब्यांकेटमा भएका थिए। कार्की ब्यांकेटमै बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै ओलीले आफू ब्यांकेटमा जान पनि नजाने खान पनि नखाने बताएका थिए। ओली समूहले पुस १८ गते राष्ट्रिय सभागृहमा काठमाडौंका कार्यकर्ता भेला राखेको छ। उक्त भेलामा पनि प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ।