ओली मन्त्रिपरिषद विस्तार गर्दै
नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ ।
पुस ५ गते संसद् विघटन गरेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजिनामा दिएका थिए ।
राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँच जना र माधव नेपाल समूहका दुई जना थिए । उर्जा मन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगर, वन मन्त्री शक्ति बहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराज मणि पोखरेल, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर यादवले राजिनामा दिएका थिए ।
रिक्त रहेका सोही स्थानमा ओलीले नयाँ मन्त्री ल्याउन लाग्नुभएको हो । बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री ओलीले आजै (शुक्रबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना रहेको छ । अर्थमन्त्री सहितका महत्वपूर्ण मन्त्रालयहरु भने प्रम ओली निकटका भएकोले तत्काल कुनै परिवर्तन हुने छैन ।
ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरूमध्येबाटै मन्त्री नियुक्त गर्ने तयारी गरिरहेको जनाइएको छ । मन्त्री बन्नेमा महेश बस्नेतदेखि नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालसम्म चर्चा रहेकाे छ ।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएपछि बस्ने चर्चामा आउनुभएको थियो । त्यस्तै मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको बताइएकाे छ ।
केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउनुभएकाे थियाे । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उहाँको भनाइ थियो ।