प्राप्त उपलब्धीको रक्षार्थ पुन एक पटक संघर्ष गरौं : प्रचण्ड
(काठमाडौं) नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हो कि भन्ने खतरा पैदा भएको बताएका छन्। पछिल्ला राजनीतिक घटनाक्रमले जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको उनले बताएका छन्।
तमू ल्होसार, उधौली र योमरी पुन्हिका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एक पटक पुनः संघर्ष गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन्। उनले सबै समुदायका उपलब्धीहरु गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न सबैलाई आग्रह गरेका छन्। उनले चाडपर्वको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो। हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको छ।’