संसद विघटनविरूद्धका रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई आज
(काठमाडौं) सरकारद्वारा संसद विघटन गरिनु असंवैधानिक कदम रहेकाे भन्दै सर्वाेच्च अदालतमा दर्ता भएका दर्जनबढी रिटहरूमाथि आज सुनुवाई हुने भएकाे छ ।
प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाकाे अध्यक्षतामा रहेकाे संवैधानिक इजलासमा ती रिटहरूकाे सुनुवाइ हुने भएकाे हाे । यसअघि उक्त रिटहरूमाथि अन्तरिम आदेश नदिएर संवैधानिक इजलािमा पेशी ताेकिएकाे थियाे । बुधबार प्रधानन्यायाधीश राणाकै एकल इजलाशले ती रिटहरू संवैधानिक इजलाशमा प्रस्तुत गर्न आदेश दिएकाे थियाे ।
“निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६ (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू” आदेशमा भनिएको छ । शुक्रबार बस्ने संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध परेका रिट पेस हुनेछ ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणासहित वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । साे इजलासले रिटहरूमाथि सुनुवाइ गर्ने जनाइएकाे छ ।
आइतबार मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर २०७८ वैशाखमा मध्यावधि निर्वाचन घाेषणा गर्नुभएकाे थियाे । तर सरकारकाे साे कदम असंवैधानिक रहेकाे भन्दै संसद पुनर्स्थापनाकाे मागसहित रिट निवेदनहरू सर्वाेच्चमा दर्ता भएका हुन् । दर्ता भएका सबैजसाे रिटमा संसद विघटन असंवैधानिक कदम रहेकाले संविधानकाे मर्मअनुरूप अदालतबाट फैललाकाे अपेक्षा गरिएकाे छ । रिट निवेदन दर्ता गर्नेमा नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा अधिवक्ताहरू रहेका छन् ।