चिनियाँ कम्युनिस्ट पार्टीको टोली देउवा भेट्न बुढानिलकण्ठमा
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
देउवाका सहयोगी भानु देउवाका अनुसार कांग्रेस सभापति देउवालाई भेट्न चिनियाँ टोली उनको निवास बुढानिलकण्ठ पुगेको हो।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको बताइएको छ।
आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेको छ ।
चीनले नेपालको राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिए पनि आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आइतबार नियमित पत्रकार सम्मेलनमा नेपालको मामलामा कुनै हस्तक्षेप नगर्ने बताएका हुन्।