कांग्रेस अदालतलाई मान्ने पार्टी हो : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सघा विघटनबारे सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका छन्।
‘संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक छ, हामीले यसको देशैभरिबाट विरोध गरिरहेका छौँ, विरोधलाई जारी राख्छौँ,’ सभापति देउवाले भने, ‘अहिले यो मुद्धा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । अदालतले दिएको निर्णयलाई हामी स्वीकार गर्छौ ।’
भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित शंखधर चोकमा कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘अदालतमा विचाराधीन कुरामा हामीले बोल्ने कुरा छैन, हामी न यता, न उता । अदालतलाई धम्क्याउने, थर्काउने, प्रभावित पार्ने हाम्रो चलन छैन । हामीले पञ्चायतमा पनि न्यायलयबाट न्याय पाएका थियौँ ।’
देउवाले आफ्नो भाषणमा अधिकांश समय अदालतको निर्णय मान्ने र त्यसलाई प्रभावित पार्न नहुने कुरामा खर्चिए । ‘सरकारले बदमासी गर्न सक्ला, संसदले बदमासी गर्न सक्ला, तर अन्तिम निर्णय आउने भनेको न्यायलयबाट हो, अहिलेसम्म मान्दै आएका छौँ, यसपटक पनि अदालतको निर्णय मान्छौँ,’ उनले दोहो¥याएर भने, ‘अदालतलाई स्वविवेकीय अधिकार छ, हामी अदालतको निर्णय मान्छौँ । अदालतको निर्णय स्वीकार गर्छौ ।’
उनले देश नयाँ परिस्थिति सिर्जना भएको भन्दै चुनावलाई संकेत गरे, र त्यसको तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे । ‘देशमा नयाँ परिस्थिति आएको छ । ओली सरकारले संसद भङ्ग गरेर निर्वाचनको मिति समेत घोषणा गरिसकेको छ । हामी कसैसँग मिलेर जाँदैनौँ,’ उनले भने, ‘कोभिडको अवस्था हेरेर कार्यक्रम राख्नेछौँ, यस्ता प्रदर्शन जारी रहनेछन् ।’ सभापति देउवाले कार्यकर्ताहरुलाई जनसम्पर्क बढाउने, अलग्गै राजनीतिक कार्यक्रम र प्रदर्शन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।
‘हाम्रो पार्टी जिम्मेवार पार्टी हो, त्यसैले सरकारका गलत गतिविधिका विरुद्ध कांग्रेस एक्लैले विरोध गर्छ, यसरी गर्दा शक्तिको आंकलन पनि हुन्छ, जनतालाई पनि प्रष्ट धारणा राख्न पाउने अवस्था हुन्छ,’ उनले भने ।
उनले खचाखच भीडलाई सम्बोधन गर्न दुई मिटरको दुरी राख्नसमेत आग्रह गरे । ‘कोभिडबाट बचेर प्रदर्शनमा सहभागी बनौँ, भ्याक्सिन आइसकेको छैन, आउन त आउँला, आएपनि नेपालमा आइपुग्न अरु एक वर्ष लाग्न सक्छ,’ उनले भने ।