बाबुरामको आग्रह : ओलीले चुनाव गराउँछ भन्ने भ्रममा नपरौं
जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म ओलीले चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममानपर्नुस् ।’
पञ्चायत र ज्ञानेन्द्र शाहले पनि चुनाव घोषणा गरेको स्मरण गर्दै उनले भने, चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको बताएका छन् । ‘अदालतबाट आशा त गरौं, भर गर्ने ठाउँ छैन’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।’
‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं ।’ यसबाहेक अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको उनले बताए ।