सप्तरीमा एक जना पुरुषमा मृत्युपछि कोरोना पुष्टि
प्तरीमा मृत्युपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए।
चार-पाँच दिनदेखि रुघाखोकी, दमलगायत समस्या देखिएका उनलाई मंगलafर उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएको थियो। त्यहाँ इमरजेन्सीमा भर्ना गरेर अक्सिजन लगाइए पनि उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएकोमा केहीबेरमै उनको मृत्यु भएको प्रमुख यादवले जनाए।
मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए। यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
प्रदेशभरिमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।