अमिताभको अवस्था स्थिर तर श्वासप्रश्वासमा सामान्य समस्या
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
'अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ,' हिन्दुस्तान टाइम्सले लेखेको छ। अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।
आइतबार नानावती अस्पताल र महाराष्ट्र सरकारका स्वास्थ्य अधिकारीले दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका हुन्। समाचारमा भनिएको छ- 'महाराष्ट्र सरकार र अस्पतालले अमिताभ र अभिषेक दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका छन्। तर ७७ वर्षीय अमिताभको उमेर र पहिलेका स्वास्थ्य समस्याका कारण उनलाई गाह्रो हुने सम्भावना रहेको अस्पतालले जनाएको छ।'
हिन्दुस्तान टाइम्सका अनुसार अमिताभलाई पहिले क्षयरोग भएको थियो। उनले शनिबार राति ट्वीट गर्दै आफूलाई कोरोना भएको जानकारी दिएका हुन्। केही समयपछि अभिषेकले ट्वीटमार्फत् नै आफू र बुवा अमिताभलाई कोरोना भएको बताएका थिए। अमिताभ र अभिषेकलाई कोरोना भएसँगै परिवारका सदस्यहरूको पनि परीक्षण गरिएको छ।
अभिनेत्री जया र ऐश्वर्या रायको नतिजा भने नेगेटिभ आएको बताइएको छ। योसँगै बच्चन परिवारको 'जल्सा' भनिने घर सिल गरिएको र आसपास स्यानिटाइज गरिएको छ।