दक्षिणी केन्यामा अज्ञात रोगबाट २० भन्दा बढी हात्ती मरे, कारणबारे अन्योल
दक्षिणी केन्यामा जुनयता अज्ञात कारणले कम्तीमा २० वटा हात्ती मरेपछि वन्यजन्तु संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन्। अधिकांश हात्तीमा आंशिक पक्षाघात, उठ्न नसक्ने र सास फेर्न कठिनाइ हुनेजस्ता समान लक्षण देखिए पनि मृत्युको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन।
किमाना क्षेत्रमा ११ वर्षीय भाले हात्ती ‘चङ्गेज खान’ पनि यस्तै लक्षणसहित भेटिएको थियो। पशुचिकित्सकले उपचारको प्रयास गरे पनि उसको मृत्यु भएको जनाइएको छ।
केन्या वन्यजन्तु सेवाले केही हात्तीका शवमा साइनाइडको उच्च मात्रा भेटिएपछि खेतमा प्रयोग हुने कीटनाशकबाट विषाक्तता भएको हुन सक्ने आशङ्का गरेको थियो। तर स्थानीय अधिकारी तथा वन्यजन्तु विशेषज्ञहरूले उक्त निष्कर्षमाथि प्रश्न उठाएका छन्।
विषाक्तता भएको भए शव खाने गिद्ध, हाइना तथा अन्य सफाइकर्ता जनावरमा समेत असर देखिनुपर्ने उनीहरूको तर्क छ। संरक्षणकर्मीहरूले पनि कीटनाशक विषाक्तताको पुष्टि गर्ने पर्याप्त प्रमाण नरहेको बताएका छन्।
स्थानीय समुदायले मृत्युको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक अनुसन्धान तीव्र पार्न माग गरेका छन्। केही संरक्षणकर्मीले सार्वजनिक तथ्याङ्कभन्दा धेरै हात्ती प्रभावित भएको हुन सक्ने र छिमेकी तान्जानियासम्म असर पुगेको हुन सक्ने आशङ्का गरेका छन्।
केन्या वन्यजन्तु सेवाले हालसम्मका परीक्षणबाट सङ्क्रामक रोगको स्पष्ट सङ्केत नदेखिएको जनाएको छ। यद्यपि, लगातार हात्ती मर्न थालेपछि घटनाको थप अनुसन्धान र निगरानी आवश्यक देखिएको छ।