विभागको भागवण्डामा कुरा नमिलेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक २८ गते सम्मका लागि बिनानिश्कर्ष टुंगियो
काठमाण्डाै : विभागको भागवण्डामा कुरा नमिलेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिनानिश्कर्ष टुंगिएको छ। सोमबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा नेताहरुबीच कुरा नमिलेको हो। ३३ विभागमध्ये सबैभन्दा गाँठो परेको स्कुल विभागमा पनि दुई अध्यक्ष निचोड निकाल्न नसकेपछि सविचालय बैठक सरेको हो। लामो विवादकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। तर यसले पनि कुनै निर्णय लिन सकेन।
‘आजको बैठकमा कुनै निर्णय भएन। साउन २८ गते ३ बजेसम्मका लागि स्थगित भएको छ’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सबै विभाग र जनवर्गीय संगठनमा केन्द्रीय सदस्यसहितका नेताहरुको चासो र रुचीबारे सोध्ने सहमति भएको छ।’ नेता श्रेष्ठले स्कुलसहित अन्य विभाग नेतृत्व गर्ने नेताहरुको चासोबारे अब सोधेर निर्णय पुग्ने बताए । ‘सबै नेताको कुरा बुझेपछि मात्रै निर्णय गर्ने भन्ने भयो’, उनले भने, ‘विभाग र जनवर्गीय संगठनमा क–कसको दाबी छ भनेर सोध्छौँ अनि निर्णयमा पुग्छौँ।’ यो बैठक बस्नुअघि बालुवाटारमै नेकपाको पूर्वएमाले समुहका नेताहरु छलफलमा जुटेका थिए। उक्त छलफलमा सरकारको समीक्षा र पार्टी स्कुल विभागको विवादबारे कुराकानी भएको थियो।
नेकपा स्कुल विभागमा पूर्वएमालेबाट इश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले चर्को दाबी गरेका थिए। पूर्वएमालेतिर घनश्याम भुसाल र बेदुराम भुसालले पनि यसमा दाबी गरेका थिए। सचिवालय अघि शनिबार र आइतवार नेकपाका दुई अध्यक्षबीच लामो छलफल भएको थियो। दुई अध्यक्षले गृहकार्य गरेपछि सोमबार दिउँसो ३ बजे पछाडि सविचालय बसेको थियो। तर दुई अध्यक्षको गृहकार्य नपुगेपछि पार्टी एकता पनि लम्बिएको छ। स्कुल विभागको विवाद मिलाउन दुई अध्यक्षले श्रेष्ठ, पोखरेलबाहेक तेस्रो व्यक्तिलाई दिने, अध्यक्ष आफैँले राख्ने र इश्वर पोखरेललाई अर्को विभाग दिनेबारे छलफल गरेका थिए ।
रासस