इरानको जेलमा रहेका इरानी–अमेरिकी पत्रकारले मागे स्वास्थ्य सहायता
तेहरानको एभिन जेलमा १० वर्षको सजाय भोगिरहेका इरानी–अमेरिकी पत्रकार रेजा वालिजादेह ले आफू र अन्य अमेरिकी बन्दीका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न अमेरिकी सरकारसँग आग्रह गरेका छन्।
सीबीएस न्यूजले सार्वजनिक गरेको अडियो सन्देशमा वालिजादेहले आफूहरू चार जना अमेरिकी बन्दी विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेको र पर्याप्त उपचार नपाएको बताएका छन्। उनले अमेरिकी सरकारले इरानसँगको वार्तामा बन्दीहरूको स्वास्थ्य सेवा र कारागारभित्र हुने शारीरिक तथा मानसिक दबाब कम गर्न पहल गर्नुपर्ने बताएका छन्।
अमेरिकी लगानीमा सञ्चालित फारसी भाषाको रेडियो फार्दासँग आबद्ध वालिजादेहलाई ‘दुश्मनसँग सहकार्य’ गरेको आरोपमा इरानले १० वर्षको जेल सजाय सुनाएको थियो। मानवअधिकार समूहहरूले पनि इरानी जेलहरूमा भीडभाड तथा आधारभूत स्वास्थ्य सेवाको अभावबारे लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन्।