नेपाल वायुसेवा निगम सञ्चालक समिति छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, २२ जेठ — सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम को सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा छनोट समितिलाई उक्त प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
सञ्चालक समिति छनोट प्रक्रियामा आफू अन्यायपूर्ण रूपमा बाहिर परेको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो।
सरकारले प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाल वायुसेवा निगमका सञ्चालक सदस्य तथा अध्यक्ष चयन गर्ने तयारी गरिरहेको थियो। तर अदालतको आदेशपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको छ।