युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, कम्तीमा सात जनाको मृत्यु
बेरुत, असार ५ — अमेरिकी मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच पनि इजरायलले दक्षिणी लेबनानमा सैन्य आक्रमणलाई निरन्तरता दिएको छ। हेजबुल्लाहविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएलगत्तै इजरायली वायु सेनाले शुक्रबार दक्षिणी लेबनानका विभिन्न गाउँ तथा सहरमा हवाई आक्रमण गरेको हो।
इरान र इजरायलबीचको तनाव चर्किएपछि हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेसँगै लेबनान पनि मध्यपूर्वी द्वन्द्वको प्रत्यक्ष प्रभावमा परेको छ। यसैबीच, वासिङ्टनमा सम्पन्न लेबनानी र इजरायली प्रतिनिधिबीचको वार्तापछि सशर्त युद्धविराम प्रस्ताव सार्वजनिक गरिएको थियो। तर हेजबुल्लाहले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रभावकारी युद्धविराम र दक्षिणी लेबनानबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग राखेको छ।
इजरायलले इरानसँगको युद्ध सुरु भएयता लेबनानमा आफ्नो सैन्य अभियानलाई थप तीव्र बनाएको छ। शुक्रबार इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले दक्षिणी लेबनानका सराफान्डसहित सातवटा सहर तथा गाउँका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले नागरिकहरूलाई आफ्नो घर छाडेर कम्तीमा एक किलोमिटर टाढा खुला क्षेत्रमा जान आग्रह गरेका छन्। हेजबुल्लाहका लडाकु, सैन्य पूर्वाधार वा हतियार भण्डारणस्थल नजिक बसोबास गर्नेहरू उच्च जोखिममा रहेको चेतावनी पनि दिइएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार चेतावनी जारी गरिएका क्षेत्रबाट ठूलो संख्यामा मानिस विस्थापित भएका छन् भने केही स्थानमा आक्रमणसमेत भइसकेको छ।
दक्षिणी सहर टायरमा भएको इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको लेबनानी नागरिक सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। टायरस्थित जबल अमेल अस्पताल नजिकै राति भएको आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन्। त्यस्तै, अर्को आवासीय क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन्।
यसअघि हेजबुल्लाहका महासचिव नईम कासिमले बिहीबार वासिङ्टनमा घोषणा गरिएको युद्धविराम प्रस्ताव अस्वीकार गरेका थिए। यता, इजरायली रक्षामन्त्री इजरायल काट्जले सैन्य अभियान जारी रहने बताएका छन्। उनले हेजबुल्लाहले इजरायली बस्तीहरूमा आक्रमण जारी राखे बेरुतसम्म सैन्य कारबाही विस्तार गर्न सकिने चेतावनी दिएका छन्।
टायर क्षेत्रका अधिकांश बासिन्दालाई घर छाड्न निर्देशन दिइएपछि धेरै नागरिक अन्य सहरतर्फ पलायन भएका छन्। आश्रयस्थलहरू भरिन थालेपछि कतिपय विस्थापितहरू गाडी वा अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।
लेबनान सरकारले हेजबुल्लाहलाई सैन्य रूपमा अवैध सशस्त्र समूहका रूपमा घोषणा गरिसकेको छ। इजरायलसँग सीमा जोडिएको लिटानी नदीको दक्षिणी क्षेत्रमा उक्त समूहलाई निःशस्त्र बनाउने प्रयास जारी रहेको बताइएको छ।