प्रधानमन्त्रीलाई सन्देश पठाएका सचिव कृष्णहरि पुस्कर जगेडामा
काठमाडौं । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै जगेडामा राखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो। सरुवासँगै उनलाई कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पुस्करको स्थानमा हालसम्म नयाँ सचिव खटाइएको छैन। उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव पठाउने तयारी भइरहेको र त्यससम्बन्धी निर्णय सोमबारसम्म हुने बताइएको छ।
पुस्करलाई प्रधानमन्त्री बालेन्द्र शाह लाई व्यक्तिगत सन्देश पठाएको विषयमा बिहीबार प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेको थियो। सोधपुछपछि उनी रिहा भएका थिए।
प्रहरी अनुसन्धानबाट मुक्त भएको भोलिपल्टै सरकारले उनलाई हालको जिम्मेवारीबाट हटाएर जगेडामा राख्ने निर्णय गरेको हो। यस घटनापछि उनको सरुवालाई प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।
सचिव पुस्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। हाल उनको स्थानमा नयाँ जिम्मेवारी तोकिएको छैन।