बालविकास शिक्षकको तलब बढाउन माग
असार १०, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी सांसद लक्ष्मीकुमारी चौधरीले बालविकास शिक्षकको तलब वृद्धि गर्न सरकारसँग माग गरेकी छन्। मुलुकभर रहेका बालविकास शिक्षकले मासिक न्यून तलबमा काम गरिरहेको भन्दै प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद चौधरीले बालविकासका शिक्षकको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरेकी हुन्। नेपालमा करिब २८ हजार बालविकास इसिडी शिक्षक कार्यरत रहेका छन्।
उहाँहरूको पारिश्रमिक जम्मा छ हजार रुपैयाँ मासिक मात्रै रहेको छु, सांसद चौधरीले भनिन्, बालविकास शिक्षकहरूले विद्यालयमा गाभिनुपूर्व ४ घण्टा मात्रै पढाउनुपर्थ्यो भने गाभिएपछि ८ घण्टा पढाउनुपर्ने बाध्यता रहेको छ। तर उहाँहरूको पारिश्रमिक मासिक छ हजार मात्रै रहेको छ। बालविकासका शिक्षकको तलब अपर्याप्त रहेको सांसद चौधरीको भनाइ थियो। बालविकासका शिक्षकलाई समान हैसियतमा पारिश्रमिक दिन उनले माग गरेकी हुन्।