मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कानुन पुनरावलोकन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्यमान नीति तथा कानुन पुनरावलोकन गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।
मन्त्री चौधरीले राष्ट्रिय निकुञ्ज स्थापना हुनुभन्दा अघिदेखि नै त्यहाँ बसोबास गर्दै आएका स्थानीय समुदायको समस्या र अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
विशेषगरी मध्यवर्ती क्षेत्र (बफर जोन) सम्बन्धी नीतिको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहदेखि नै सबै पक्षबीच सहकार्य र समन्वय हुनुपर्ने उनले बताइन् ।
उनले संरक्षणलाई विकासको बाधकका रूपमा नलिई मानव र वन्यजन्तुको सहअस्तित्व कायम हुने गरी नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन् ।