मधेसमा गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा
काठमाडौं । मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमन र नमुना परीक्षणका क्रममा कैफियत भेटिएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही अघि बढाइएको छ ।
यस अवधिमा प्रदेशभरका ६३२ खाद्य व्यवसायमा अनुगमन गर्दा ५६ उद्योगमा कैफियत भेटिएको थियो । ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार १८ लाख २६ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सङ्कलन गरिएका १६४ नमुनामध्ये पाँच वटाको परीक्षण प्रतिवेदन प्रतिकूल आएको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका तथा उपभोगका लागि अयोग्य खाद्यवस्तु जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।