वायु प्रदूषण बढ्ने जोखिमपछि प्लास्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला खुला रूपमा नबाल्न आग्रह गरेको छ ।
महानगरको वातावरण विभागका प्रमुख सरिता राईका अनुसार सवारीसाधनको धुवाँ, निर्माणकार्यबाट निस्कने धुलो, उद्योग तथा कलकारखानाको धुवाँ र प्लास्टिकजन्य फोहर जलाउँदा वायु प्रदूषण बढ्ने गरेको छ ।
वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले प्रदूषण नियन्त्रणका मापदण्ड पालना गर्न महानगरले आग्रह गरेको हो ।
महानगरले सवारीसाधन नियमित मर्मत गरी धुवाँ नियन्त्रण गर्न, निर्माण सामग्री सडक तथा फुटपाथमा नराख्न र उद्योग तथा कलकारखानाले प्रदूषण नियन्त्रणका उपकरण प्रयोग गर्न पनि अनुरोध गरेको छ ।