कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार चालकले बसमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका २५ जना यात्रुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको डीएसपी पण्डितले जानकारी दिएका छन्।
दुर्घटनापछि बस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था तथा दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।