अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री गरेको आरोपमा टोखाबाट एक जना पक्राउ
काठमाडौँको टोखामा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका क्षेत्रमा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखा नगरपालिका–१ स्थित झण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
मंगलबार दिउँसो उक्त क्षेत्रमा पुगेर प्रहरीले जाँच गर्दा मिसावट गरिएको अवस्थामा १५ बाल्टिन मह फेला पारेको थियो। बरामद गरिएको महको कुल तौल ३८४ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले महसहित गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अखाद्य वस्तु मिसाएर मह उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।