छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै
मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको उल्लास छाएको छ । चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज ब्रतालुले श्रद्धा र भक्तिपूर्वक ‘खरना’ विधि गर्दैछन् ।
यसअघि पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले पवित्र स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधिबाट व्रत सुरु गरेका थिए ।
पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा ब्रतालुले बिहान स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन् । साँझ सूर्यास्तपछि चन्द्रदर्शन गरी सख्खर, दूध र चामलबाट तयार पारिएको खीर कूल देवता तथा छठी मातालाई अर्पण गरिन्छ । त्यसपछि ब्रतालु र परिवारका सदस्यले उक्त खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । यस विधिलाई मैथिली भाषामा ‘खरना’ भनिन्छ ।
खरनाका दिन माटोको नयाँ चुलो र माटोकै भाँडामा पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाउने चलन छ । छठ पर्वलाई मिथिलामा लोकआस्थाको महापर्वका रूपमा लिइन्छ । श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई यस पर्वका मुख्य पक्ष मानिन्छन् ।
पर्वको तेस्रो दिन भोलि कात्तिक शुक्ल षष्ठीका दिन ब्रतालुले दिनभरि निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारमा बनाइएका घाटमा पुग्नेछन् । कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ दिने विधिलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
त्यस्तै, पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
छठका अवसरमा ठेकुवा, भुसुवालगायत विभिन्न मिष्टान्न परिकार तयार पारिन्छन् । यी प्रसाद अर्घका लागि प्रयोग गर्नुका साथै इष्टमित्र तथा आफन्तलाई घरमै बोलाएर खुवाउने र नातेदारका घरमा पुर्याउने परम्परा छ ।
केही वर्षअघिसम्म मुख्यतः मधेसी हिन्दू समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडी समुदायका हिन्दूले पनि उत्साहका साथ मनाउन थालेका छन् । मिथिला क्षेत्रमा मुस्लिम समुदायका व्यक्तिले समेत ब्रतालुलाई अर्घका बेला आफ्ना भाकल सूर्यदेवसमक्ष देखाउन दिने परम्परा रहेको छ ।
सबै धर्म, संस्कृति र जातजातिको सहभागिता बढ्दै गएपछि छठ पर्व मिथिलाको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादवले बताए ।